जीवनमा समय, संस्कार र सम्बन्धको महत्त्व

जीवनमा समय, संस्कार र सम्बन्धको महत्त्व

____________________________


समयसँगै जीवनका धेरै कुरा परिवर्तन हुन्छन्। प्रारम्भमा बाहिरी सौन्दर्यले आकर्षण गर्न सक्छ, तर समयको प्रभावले त्यो सौन्दर्य मन्द हुँदै जान्छ। तर, मर्यादा र संस्कार भने कहिल्यै मन्द हुँदैन। मानिसको सच्चा पहिचान उसको व्यवहार र संस्कारले निर्धारण गर्छ।


जीवनमा धन र प्रसिद्धिको कुनै स्थायित्व हुँदैन। ठूला नोट र ठूला मानिसहरू जतिवेला पनि बदलिन सक्छन्। तर, साना नोटजस्तै साना र सच्चा सम्बन्धहरूलाई बलियो बनाएर राख्न सके, तिनले जीवनलाई स्थिरता दिन्छन्। वोधगम्य महत्वपूर्ण तथ्य यो हो की जे सही छ, त्यो सधैं लोकप्रिय हुँदैन र जुन लोकप्रिय छ, त्यो सधैं सही हुँदैन।


कर्म जीवनको सत्य हो। जसरी गरिएको कर्मको फल अवश्य प्राप्त हुन्छ, त्यसरी नै गरिएको धोखाको मूल्य पनि तिर्नैपर्छ। यसैले हाम्रो कर्म सधैं सत्य र निष्ठाले भरिएको हुनुपर्छ। साँचो मार्ग कहिलेकाहीँ कठिन र अलोकप्रिय लाग्न सक्छ, तर त्यो मार्ग अन्ततः सही र न्यायपूर्ण हुन्छ।


जीवनमा परमात्माप्रतिको विश्वासले साहस, बल र आत्मज्ञान प्रदान गर्छ। यसले सृष्टिका सबै अंगहरूमा एकता र शान्तिको अनुभूति गराउँछ। सत्यको पालनले भ्रम र संघर्षबाट मुक्त गर्दै जीवनलाई सही मार्गमा डोर्याउँछ। परमात्मा प्रतिको विश्वासले जीवनको उद्देश्य प्रस्ट पार्छ र हामीलाई आन्तरिक शक्ति तथा शान्ति प्रदान गर्दछ।


समय, शक्ति, सम्पत्ति र शरीर अस्थायी हुन्। यी कुरा हराउन सक्छन्, तर स्वभाव, समझदारी र सच्चा सम्बन्ध सधैं हाम्रो साथमा रहन्छन्। कठिन घडीमा यी तत्वहरूले नै हामीलाई बल र प्रेरणा दिन्छन्। यदि जीवनमा सबथोक गुमे पनि केही गर्न सक्ने साहस बाँकी छ भने, त्यो व्यक्तिले केही पनि गुमाएको हुँदैन।


आजकल धेरै सम्बन्ध आवश्यकता पूर्तिसम्म सीमित हुने गरेको छ। यो यथार्थ हो कि धेरै मानिसहरू आफ्नो स्वार्थ पूर्तिसम्म मात्र वफादार हुन्छन्। साँचो अपनत्व र निष्ठाको अभावमा सम्बन्धहरू कमजोर हुन्छन्। वास्तवमा, कसैसँग झूटा अपनत्व देखाउनु धोखाको सबैभन्दा ठूलो रूप हो।


दुश्मनी प्रायः आफ्नै नजिकका मानिसहरूबाट उत्पन्न हुन्छ। नजिकका व्यक्तिहरूलाई हाम्रो खुशी र सफलता सहन गर्न गाह्रो हुन्छ। तर, जो सम्बन्ध झगडापछि पनि टुट्दैन, त्यो सम्बन्ध साँचो र अटुट हुन्छ।


जीवनमा परिवर्तन अपरिहार्य छ। प्राय गरेर हरेक परिवर्तन सजिलो हुनु अघि कठिनाइको सामना गर्दछन्। यसैले, धैर्य राख्न सिक्नुपर्छ। कठिनाइ र चुनौतीहरू जीवनका पाठ हुन्, जसले हामीलाई अझ बलियो बनाउँछ। यस्तै चुनौतीहरूको सामना गर्दा कहिलेकाहीँ लोकप्रियताको भ्रमले हामीलाई भुलाउन सक्छ। तर, सही निर्णय लिनका लागि लोकप्रियता होइन, सत्यको मार्ग रोज्नुपर्छ।


आजको युगमा सम्बन्धहरू आर्थिक अवस्थामा निर्भर हुन थालेका छन्। मानिसहरूको व्यवहार धन र प्रतिष्ठासँग जोडिएको देखिन्छ। तर, असली सम्बन्ध साँचो प्रेम र विश्वासमा आधारित हुन्छ।


जीवनमा आशा कहिल्यै त्याग्नु हुँदैन। उतारचढाव जीवनको नियम हो, जसले हाम्रा अनुभवहरूलाई परिपक्व बनाउँछ। जसले जीवनलाई गहिरो रूपमा बुझ्दै जान्छ, ऊ एक्लो हुँदै जान्छ। यसैले, समयको महत्त्व बुझ्दै विश्वास र सम्बन्धहरूलाई जोगाउनु पर्दछ।


परमात्माको खोजमा समर्पित जीवनले शून्यताको महत्त्वलाई पनि उजागर गर्छ। शून्यताले बाह्य परिस्थितिबाट अलग गराई अन्तर्मनको शान्ति खोज्न प्रेरित गराउदछ। पूर्णताले जीवनका हरेक पक्षलाई स्वीकार्न सिकाउँदछ, जसले हामीलाई आफ्नो अस्तित्वप्रति सन्तोष प्रदान गर्दछ।


जिन्दगीमा गुमेको समय र बिग्रिएको विश्वास कहिल्यै फिर्ता आउँदैन। ठण्डीले हात चलाउन रोक्छ भने घमण्डले वुद्धीको मार्ग रोक्दछ। यसैले, आफ्नो अहंकारलाई त्यागेर संस्कारयुक्त भएर अरूको सम्मान गर्नसक्नु पर्दछ।


जीवनमा जहिले पनि इमानदारीले कमाएको आम्दानी सुखदायी हुन्छ। इमानदार व्यक्तिका शौक र चहाना पूरा नहुन सक्छन्, तर उनीहरूको निद्रा कहिल्यै हराउँदैन। जसले आफ्नो गल्ती बुझ्न सक्छ, उसले जीवनमा सुधारको अवसर प्राप्त गर्न समर्थ हुन्छ।


स्वयंलाई बुझ्नु नै जीवनको सबैभन्दा ठूलो कला हो।सत्यको मार्ग अप्ठ्यारो र अलोकप्रिय भए पनि, अन्ततः त्यसले जीवनलाई उज्यालो बनाउँदछ। सत्य, शान्ति, र परमात्माको खोजमा समर्पित जीवनले मात्र साँचो सन्तोष र सुख प्राप्त गर्न सक्छ। लोकप्रियतामा होइन, सत्यमा जीवनको सार निहित छ। यसैले, सत्य र निष्ठाको मार्गमा हिडौ, सधैं अघि बढौं।


जय अघोर ।

Comments

Popular posts from this blog

Sanskrit joke

100 Sanskrit verbs क्रियापदानि ।